

विराटनगर : सोलुखुम्बुको लोबुचेमा मनाङ एयरको ९ एन-एएनजे कलसाइन भएको हेलिकोप्टर दुर्घटना भएको छ । शनिबार बिहान उक्त हेलिकोप्टर लुक्लाबाट लोबुचे उडेको थियो ।
लोबुचेमा अवतरणको क्रममा हेलिकोप्टर दुर्घटना भएको बताइएको छ । दुर्घटना भएलगत्तै उक्त हेलिकोप्टरमा आगो लाग्दा हेलिकोप्टर पूर्ण रुपमा क्षति भएको छ। हेलिकाेप्टर दुर्घटनामा घाइते भएका पाइलटकाे अवस्था खतरामुक्त देखिएकाे छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार दुर्घटनामा घाइते हेलिकाेप्टरका पाइलट प्रकाशकुमार सेडाइको उद्धार गरी अहिले काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। पाइलट सेडाइ खतरामुक्त रहेको अस्पतालले जनाएको छ। लोबुचेको हेलिप्याड नजिकै दुर्घटनाग्रस्त हेलिकाेप्टरमा पाइलट सेडाइ मात्र रहेका थिए। हेलिकाेप्टरमा आगलागी भएको थियो । दुर्घटनाग्रस्त हेलिकाेप्टरका पाइलटलाइ फिस्टेल एयरको हेलिकाेप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको हो। उक्त हेलिकाेप्टर लुक्लामा सामान झारेर पर्यटक लिन लोबुचे उडेको थियो। हेलिकाेप्टर के कारणले दुर्घटना भयो भन्नेबारे थप अनुसन्धानपछि मात्रै थाहा हुने प्राधिकरणले जनाएको छ। प्रारम्भिक जानकारीअनुसार हिमाली क्षेत्रमा तीव्र हावा चलेको र सोही हावाको बेगले अवतरणको क्रममा हेलिकाेप्टर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।