

बिराटनगर । ग्रामथान गाउँपालिका-४ कटहरास्थित जुवाको अखडामा प्रहरीले छापा हानेर नेकपा एमालेका नेता शिवनारायण माझीसहित ९ जनालाई शनिबार राति पक्राउ गरेको छ। पक्राउ परेका माझी ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष समेत हुन्।
जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीका अनुसार विशेष सूचनाको आधारमा गरिएको छापाबाट १८ लाख ५१ हजार ५०० रुपैयाँ बरामद गरिएको छ। पक्राउ परेका माझी २०७४ सालको निर्वाचनमा ग्रामथान गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।
पक्राउ परेका अन्य व्यक्तिहरूमा सुन्दहरैंचा नगरपालिका–१ का जनककुमार माझी, सुनसरीको दुहबी नगरपालिका–६ का जयकिशोर साह, महोत्तरीका महेशकुमार माझी र महेश साह, ग्रामथान–४ का आर्हलाल माझी, धरान उपमहानगरपालिका–१५ का युवक राई, दमक–१० का कतुवर्न नेम्वाड, मोरङको लेटाङ नगरपालिका–९ का लोकनाथ सापकोटा र सुन्दरहैंचा–३ का प्रताप राई रहेका छन्।
प्रहरीले जुवाडेलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर अनुसन्धान गरिरहेको र जुवा ऐनअन्तर्गत म्याद थप गरी मोरङ अदालतमा कारबाही प्रक्रिया सुरु गरिने जनाएको छ।