

इनरुवा, सुनसरी । नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान, इनरुवाले यस वर्षको करम पूजा पर्वको अवसरमा भव्य कार्यक्रम आयोजना गरेको छ। बुधबार, उराँव समुदायले आफ्ना सांस्कृतिक, धार्मिक, र परम्परागत जीवनशैली झल्काउने ‘उराँव जीवन दर्शन’ प्रदर्शन गरेका छन्। यस कार्यक्रमले उराँव समुदायका संस्कार, संस्कृति, रितिरिवाज, र कलाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।
प्रतिष्ठानका अध्यक्ष बेचन उराँवका अनुसार, कार्यक्रम उराँव समुदायका युवा पुस्तालाई आफ्नो पहिचान र परम्परा बुझाउने अभिप्रायले आयोजना गरिएको हो। यस अवसरमा करिब ३५ वटा उराँव समूहको सहभागितामा झाँकी, र्याली, तथा सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो।
कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य राजिव कोईरालाले सबै जातजातिका संस्कार र संस्कृतिको संरक्षणमा आफूहरु प्रतिवद्ध रहेको बताउँदै, उराँव समुदायको हक, हित, र पहिचानलाई सुदृढ गर्न राज्यले थप ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
उक्त कार्यक्रममा भारतको रांची विश्वविद्यालयका प्रा.डा. हरी उराँव तथा झारखण्डका अनुसन्धानकर्ता डा. बन्दे खल्खोको पनि विशेष उपस्थिति रहेको थियो। प्रतिष्ठानले प्रा.डा. हरी उराँवलाई ‘उराँव समुदाय सम्मान २०२४’ बाट सम्मानित गरेको छ।