

बिराटनगर । मोरङ जिल्लाको रंगेली नगरपालिका वडा नं. ९ धनजुवा क्षेत्रमा चट्याङ लाग्दा एक महिलाको मृत्यु भएको छ भने अर्की एक घाइते भएकी छन्।
मिति २०८१ साल असोज ८ गते, अन्दाजी दिउँसो १२:३० बजे ४५ वर्षीया साक्रो हेमरमको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो। उनी आफ्नै घरदेखि करिब २ किलोमिटर पश्चिममा रहेको धान खेतमा घाँस काट्दै गर्दा चट्याङको चपेटामा परेकी थिइन्। साक्रो हेमरम लुखीराम हेमरमकी श्रीमती हुन्।
सोही समयमा, त्यही स्थानमा घाँस काट्दै गरेकी २२ वर्षीया विनिता हेमरम चट्याङको असरले घाइते भएकी छन्। विनिता राम हेमरमकी छोरी हुन् र उनलाई कानबाट रगत निस्किएको अवस्थामा सामान्य चोटपटक लागेको छ। उनलाई तत्कालै रंगेली अस्पतालमा उपचारका लागि पठाइएको छ।
घटनाको जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय दोहमनाबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालित भएको थियो। घटनास्थललाई सुरक्षित राख्दै थप अनुसन्धानका लागि रंगेलीबाट प्रहरी निरीक्षकको टोली खटाइएको छ। इलाका प्रहरी कार्यालय रंगेलीबाट करिब १० किलोमिटर उत्तरपूर्वमा घटनास्थल पर्छ ।