

बिराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–४ स्थित गोकुवा चौकमा ट्रकको ठक्करबाट सशस्त्र प्रहरी बलका एक जवानको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। कोशी राजमार्गअन्तर्गत प्रदेश १–०२–००१ क ३७१३ नम्बरको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण कंकालीनी टंकीसिनवारीमा कार्यरत २७ वर्षीय चन्द्रबहादुर तामाङको ज्यान गएको हो।
मोरङ प्रहरीका अनुसार, तामाङ सवार मोटरसाइकललाई पूर्वबाट राजमार्गमा निस्किएर उत्तरतर्फ मोडिँदै गर्दा दक्षिणबाट उत्तरतर्फ गइरहेको ट्रकले ठक्कर दिएको थियो। संखुवासभा घर भएका तामाङ गम्भीर घाइते भएलगत्तै उपचारका लागि विराट शिक्षण अस्पतालमा भर्ना गरिएका थिए, तर उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषित गरे।
दुर्घटनामा मोटरसाइकल चालक ३० वर्षीय युशन राई पनि घाइते भएका छन्। धनकुटाको साँगरीगढी गाउँपालिका–९ घर भएका राईको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ भने उनको अवस्था सामान्य रहेको छ।
ट्रकका चालक, ३० वर्षीय सुवास झाँगडलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको मोरङ प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिएका छन्।