

बिराटनगर । मोरङ जिल्लाको सुनवर्षी नगरपालिका वडा नम्बर ४ काशीजानकी २१ वर्षीया कृष्टि राजवंशी असोज २१ गतेदेखि ३ वर्षीया छोरी नायरा दाससहित बेपत्ता भएकी छिन्। उनी ठुलो बुबाको निधनको कारणले असोज १९ गते छोरीलाई लिएर माइती बेलबारी–८ गएकी थिइन्। ठुलो बुबाको काम सकेर घर फर्कने क्रममा असोज २१ गते सोमबार उनी सम्पर्कविहीन भएकी हुन्।
कृष्टिका श्रीमान अमित कुमार दास कतारमा वैदेशिक रोजगारमा थिए। श्रीमती हराएको खबर पाएपछि उनले आपतकालीन टिकट काटेर अक्टोबर १० मा नेपाल फर्किए। श्रीमती र छोरीको खोजीका लागि अमितले रंगेलीको इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन्। प्रहरीले खोजी कार्य जारी राखेको भए पनि हालसम्म कुनै ठोस जानकारी प्राप्त भएको छैन। कृष्टिको मोबाइल फोनको अन्तिम लोकेसन हरिनगरामा देखिएको भए पनि त्यहाँ खोजी गर्दा पनि पत्ता लाग्न सकेको छैन।
कृष्टिका श्रीमान अमितले पत्रकार सम्मेलनमार्फत आम जनसमुदायलाई सहयोगको लागि आग्रह गर्दै जसले श्रीमती र छोरीलाई पत्ता लगाउँछ उसलाई ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन्। कृष्टिलाई कहिलेकाहीँ भुल्ने समस्या भएको कुरा उनका आफन्तहरूले बताएका छन्। उनी काशीजानको श्री काली माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन्।
अमितले घरमा कुनै प्रकारको मनमुटाव नभएको र विदेशमा हुँदा पनि श्रीमतीसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन्। उनले श्रीमतीलाई सम्पर्कमा आउन आग्रह गर्दै यदि कुनै समस्या छ भने आफूसँग खुलस्त कुरा गर्न सामाजिक सञ्जालमार्फत अनुरोध गरेका छन्। कृष्टिका ससुरा किरण कुमार दासले पनि बुहारीलाई जहाँ बस्न सहज हुन्छ, त्यही बस्न मिलाउने बताएका छन्।
श्रीमती र छोरी बेपत्ता भएपछि परिवार अत्यन्त चिन्तित बनेको छ । सम्पर्क नम्बर ९८२७३४०९८४,
९८२३५७९८२१,९७०९७३४९०४