

बिराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। यो कार्यालय ग्रामथान गाउँपालिकाको कार्यालय भवनमा सञ्चालनमा ल्याइएको हो।
कार्यालयको उद्घाटन जिल्ला अदालत मोरङका न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत उद्ववप्रसाद भट्टराईले गर्नुभयो। उद्घाटन कार्यक्रममा उहाँले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, र भयरहित बनाउन राजनीतिक दलहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।
कार्यालय स्थापना पछि भट्टराईले आज सर्वदलीय छलफल गर्नुभएको छ। छलफलका क्रममा राजनीतिक दलहरूले भयरहित र सफल निर्वाचन सम्पन्न गर्न पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
मुख्य निर्वाचन अधिकृत भट्टराईका अनुसार निर्वाचनको औपचारिक कार्यक्रम मंसिर २ गतेबाट सुरु हुनेछ। सो दिन मनोनयन दर्ता बिहान १० बजेबाट सुरु गरिनेछ। मनोनयन दर्ताका लागि राजनीतिक दलहरूलाई समय दिइएको छ। निर्वाचन आचारसंहिता र मनोनयन दर्तासम्बन्धी जानकारी प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख चोलाराज दंगालले दिनुभएको थियो।
ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको असार ३ गते निधन भएपछि यस उपनिर्वाचनको आवश्यकता परेको हो। उपनिर्वाचनका लागि गाउँपालिकामा रहेका ७ वडाका २६,०४४ मतदाताले मतदान गर्नेछन्।
निर्वाचनलाई स्वच्छ र सफल बनाउन सम्पूर्ण तयारी अघि बढाइएको जनाइएको छ।