मोरङमा नक्कली सुन ठगी गर्ने गिरोह पक्राउ

Logo
सुशान्त खबर प्रकाशित सोमबार, मंसिर १७, २०८१

बिराटनगर । नक्कली सुन देखाएर सर्वसाधारणलाई ठगी गर्ने गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ परेका ६ जना व्यक्तिहरूमा भारतीय नागरिकसहित नेपाली नागरिकहरू पनि छन्।

जिल्ला प्रहरी कार्यालय मोरङले ठगीको उजुरीपछि विशेष अनुसन्धान टोली परिचालन गरी गिरोहका सदस्यहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूले सुनजस्तो देखिने नक्कली धातु देखाएर विभिन्न व्यक्तिहरूलाई ठगी गर्ने गरेको खुलासा भएको छ।

मोरङ प्रहरीले पक्राउ गरेका सदस्यहरूमा संखुवासभा पाँचखपन गाउँपालिका–५ का ५६ वर्षीय कृष्णबहादुर तामाङ, झापा तोपगाछी गाउँपालिका–१ का ५२ वर्षीय अशोक तामाङ, कन्काई नगरपालिका–९ का ५९ वर्षीय ढकलबहादुर थिङ्ग, अर्जुनधारा नगरपालिका–११ का ५४ वर्षीय प्रविन तामाङ, हल्दीबारी गाउँपालिका–३ का ६६ वर्षीय रामबहादुर कन्दङ्वा, र भारतको पश्चिम बंगालस्थित नक्सालबाडीका ५१ वर्षीय नारायण गुरुङ तथा ३४ वर्षीय सञ्जय शर्मा रहेका छन्।

गिरोहले सुनजस्तो चम्कने नक्कली धातु तयार गरी उच्च नाफाको प्रलोभन देखाएर सर्वसाधारणलाई ठग्ने गरेको पाइएको छ। उनीहरू अस्पताल, मेला, हटिया, र व्यस्त बजार क्षेत्रमा सक्रिय रहँदै अपरिचितलाई आफन्तझैँ व्यवहार गरेर ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाका अनुसार, गिरोहका सदस्यहरूले आफ्नो पहिचान लुकाउन बारम्बार होटल परिवर्तन गर्ने, सुटबुट लगाएर विश्वास जित्ने र ठगी पछि फरार हुने गरेका थिए।

गिरोहका साथबाट नक्कली सुनका टुक्राहरू, ठगीबाट संकलित नगद, र ठगीमा प्रयोग भएका उपकरणहरू बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले सर्वसाधारणलाई नक्कली सुनको प्रलोभनमा नपर्न आग्रह गरेको छ। सुन किन्ने क्रममा मात्र आधिकारिक पसल र प्रमाणित स्रोतबाट कारोबार गर्न सुझाव दिएको छ।

पक्राउ परेका व्यक्तिहरूमाथि ठगी सम्बन्धी कानुनी मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, मोरङको भनाइ छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश