

विराटनगर/ विराटनगर स्थित जलजला चोकमा शुक्रबारदेखि च्याम्पियनस् कराते एकेडेमी सञ्चालनमा आएको छ। सो एकेडेमीको उद्घाटन प्रमुख अतिथि कराते महासंघका केन्द्रिय सदस्य धर्म न्यौपानेले केक काटेर गरेका हुन्।
एकेडेमीमा बिहान ६ देखि ८ बजेसम्म र बेलुकी ४ देखि ७:३० बजेसम्म कक्षा सञ्चालन हुने जानकारी कोच साहिल गिरीले दिएका छन्। करातेमार्फत साना नानीहरुलाई सही दिशा प्रदान गर्नुका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यले यो एकेडेमी स्थापना गरिएको उनले बताए।
त्यसैगरी आर्का कोच सुरज कामतका अनुसार, विराटनगरमा कराते सिक्ने व्यवस्थित ठाउँको अभावमा खेलाडी र अभिभावकलाई कठिनाइ हुने गरेको थियो। खेलाडीहरूलाई उचित वातावरण प्रदान गर्न यो एकेडेमी स्थापना गरिएको हो।
उद्घाटन समारोहमा दुई उत्कृष्ट कराते खेलाडी, दर्शना पराजुली र एलिना मगरलाई आजीवन निःशुल्क प्रशिक्षण दिने घोषणा गरिएको छ। कार्यक्रममा खेलाडी, विद्यार्थी र अभिभावकहरूको उल्लेखनीय उपस्थिति थियो।
यो एकेडेमीले विराटनगरमा कराते खेलको स्तर उकास्न महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।