

बिराटनगर । विराटनगरको सहिद रंगशालामा शुक्रबार सम्पन्न क्वाटरफाइनल खेलमा थ्रीस्टार क्लबले साविक विजेता मछिन्द्र एफसीलाई पराजित गर्दै ९औं संस्करणको विराट गोल्डकपको सेमिफाइनल यात्रा तय गरेको छ। थ्रीस्टारले २-१ गोलको नतिजा निकाल्दै डिफेन्डिङ च्याम्पियनलाई प्रतियोगिताबाट बाहिर पठायो।
खेलको पहिलो हाफमा थ्रीस्टारले बलियो पकड बनायो। १५औं मिनेटमा आशिष चापागाइँले एन्जल महर्जनको क्रस पासलाई सदुपयोग गर्दै पहिलो गोल गरे। त्यसको १० मिनेटपछि दिपेश घलेले गोल थप्दै टिमलाई २-० को अग्रता दिलाए।
मछिन्द्रले दोस्रो हाफमा उच्च मिहिनेत गर्दै खेलमा फर्कने प्रयास गर्यो। खेलको ८९औं मिनेटमा कप्तान देवेन्द्र तामाङले हेडिङमार्फत उत्कृष्ट गोल गरे। तर, बाँकी समय गोल निकाल्न नसक्दा साविक विजेता मछिन्द्र प्रतियोगिताबाट बाहिरियो।
थ्रीस्टारका दिपेश घले म्यान अफ द म्याच घोषित भए र उनले नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। यस जितसँगै थ्रीस्टारले आइतबार विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग पहिलो सेमिफाइनल खेल खेल्नेछ।
थ्रीस्टारले केही दिनअघि मात्रै कपिलवस्तु गोल्डकपको फाइनलमा मछिन्द्रसँग १-० को हार बेहोरेको थियो। तर, विराट गोल्डकपमा शानदार जित निकाल्दै उसले बदला लिन सफल भएको छ।
शनिबार हुने अन्तिम क्वाटरफाइनल खेल चर्च ब्वाईज युनाइटेड र एनआरटीबीच हुनेछ।