

बिराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाल विद्युत् प्राधिकरण (एनईए) का कार्यकारी निर्देशक कुलमान घिसिङसँग सरकारले गरिरहेको विवादप्रति असन्तुष्टि जनाएका छन्।
शनिबार सिन्धुली क्षेत्र नम्बर १ समितिद्वारा बेलघारीमा आयोजित पहिलो क्षेत्रीय सम्मेलनमा बोल्दै थापाले सरकारले घिसिङप्रति देखाएको व्यवहारप्रति प्रश्न उठाए।
“विद्युत् प्राधिकरण ऊर्जा मन्त्रालय अन्तर्गत सञ्चालन हुन्छ। यो सरकारको दुर्भावनापूर्ण नियत हो कि व्यवस्थापन कमजोरी, मैले बुझ्न सकेको छैन। घिसिङ अब तीन-चार महिनापछि अवकाश पाउँदै छन्। त्यसपछि योग्य नेतृत्व चयन गर्न सकिन्छ,” थापाले भने। “तर, सरकार एक जनामै केन्द्रित देखिन्छ। यस्तो विवाद अनावश्यक र अनुपयुक्त हो।”
उनले मन्त्रीहरूलाई अनावश्यक गतिविधिमा संलग्न नहुन चेतावनी दिंदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई आवश्यक हस्तक्षेप गर्न आग्रह गरे।
“कुनै पनि मन्त्री अनावश्यक कुरामा लाग्नुहुँदैन। यदि त्यस्तो भयो भने तिनलाई रोक्ने जिम्मेवारी प्रधानमन्त्रीकै हो,” थापाले थपे। “प्रधानमन्त्री नै मन्त्रिपरिषद्को नेतृत्वकर्ता हुन्। राम्रा निर्णयहरूको जस उहाँले लिनुहुन्छ भने नराम्रा निर्णयहरूको जिम्मेवारी पनि उहाँकै हुनुपर्छ।”
थापाले सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूलाई राम्रो काम गर्न र कम्तीमा गल्ती नगर्न सुझाव दिए। “राम्रो काम गर्नुहोस्, कम्तीमा गल्ती नगर्नुस्,” उनले भने। “पचास राम्रो काम भए पनि एउटा गल्तीले सबै उपलब्धि ओझेलमा पार्न सक्छ।”