

विराटनगर । इलाका प्रहरी कार्यालय रानी (सीमा), मोरङ तथा सामुदायिक प्रहरी सेवा केन्द्र रानीको संयुक्त आयोजनामा समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत एक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
फागुन २६ गते, गौतम बुद्ध मेमोरियल सेकेन्डरी स्कुल, विराटनगर–१६ मा कक्षा ९ मा अध्ययनरत ३८ जना विद्यार्थीहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो। इलाका प्रहरी कार्यालय रानी (सीमा) बाट प्रमुख निरीक्षक सुवास अधिकारीले साइबर अपराध तथा लागुऔषध न्यूनीकरण सम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गरेका थिए।
कार्यक्रम बिहान ११:३० बजे सुरु भई दिउँसो १२:३० बजे समापन भएको थियो। विद्यार्थीहरूलाई प्रविधिको दुरुपयोग रोक्न सचेत रहनु पर्ने तथा लागुऔषध दुर्व्यसनको हानिकारक प्रभावबारे जानकारी गराउँदै प्रहरी निरीक्षक अधिकारीले समाजमा अपराध न्यूनीकरणका लागि युवा पुस्ताको सक्रिय भूमिका आवश्यक रहेको बताए।
उक्त सचेतना कार्यक्रमले विद्यार्थीहरूलाई साइबर अपराध तथा लागुऔषधको असरबारे जानकारी गराई सचेत रहन प्रेरित गर्ने अपेक्षा गरिएको छ।