

जहदा, मोरङ – तीन वर्षअघि संकलन गरिएको राष्ट्रिय परिचय पत्र अहिले आएर मात्र वितरण गर्न थालिएपछि जहदाबासीले घण्टौं लाइन बस्नुपर्ने समस्या भोग्नुपरेको छ। गाउँपालिकाले वडागत रूपमा वितरणको तालिका सार्वजनिक गरे पनि व्यवस्थापनको अभावले गर्दा नागरिकहरू दिनभर पालो कुर्न बाध्य भएका छन्।
बिहानैदेखि पालो पर्खिरहेका नागरिकहरू आक्रोशित देखिन्छन्। “हाम्रो पालो कहिले आउँछ भन्ने थाहा छैन। घाम, पानी जे भए पनि दिनभर बस्नुपर्ने अवस्था छ,” एक स्थानीयले भने। कतिपयले कामकाज छोडेर परिचय पत्र लिन आएकाले आर्थिक नोक्सानी भएको बताएका छन्।
पालिकाले भने चाप धेरै भएका कारण ढिलाइ भएको बताएका छन्। “हामी सकेसम्म छिटो वितरण गरिरहेका छौं, तर मानिसहरूको संख्या धेरै भएकाले समय लागिरहेको छ,”
जहदाबासीले अबको दिनमा परिचय पत्र वितरण प्रणाली सुधार्न, थप जनशक्ति परिचालन गर्न र डिजिटल प्रणाली प्रभावकारी बनाउन माग गरेका छन्। कतिपयले वितरण प्रक्रिया सहज बनाउन अनलाइन समय व्यवस्थापन वा घरमै कार्ड वितरण गर्ने प्रणाली लागू गर्नुपर्ने सुझाव दिएका छन्।