

विराटनगर । विराटनगरको जैन भवनमा ढाका कपडा महोत्सव सुरु भएको छ। नेपालको मौलिक संस्कृति, परम्परा, र पहिचानलाई प्रवर्द्धन गर्न तथा ढाका कपडाको बजारीकरण बढाउन महोत्सव आयोजना गरिएको हो।
मुख्यमन्त्री हिक्मत कार्कीले बिहीबार महोत्सवको उद्घाटन गर्दै ढाका उद्योगले ग्रामिण अर्थतन्त्रलाई टेवा पुर्याउने उल्लेख गर्नुभयो। उहाँले शिक्षक र सरकारी कर्मचारीलाई ढाका कपडा प्रयोग गराउने नीति ल्याउने योजना समेत सुनाउनुभयो।
तीन दिनसम्म चल्ने महोत्सवमा ३० ढाका उद्योगका उत्पादनहरू प्रदर्शनीमा राखिएका छन्। केही महिला उद्यमीहरूले तानसहित प्रत्यक्ष बुनाई प्रदर्शन गरिरहेका छन्। उद्योगीहरूका अनुसार नेपाली ढाकाको अन्तर्राष्ट्रिय माग बढिरहेको छ, तर प्रविधि र व्यवसायिकता अभावका कारण अपेक्षित उपलब्धि हासिल गर्न नसकिएको छ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले महोत्सवले स्थानीय उद्यमशीलता प्रवर्द्धन गर्ने र ग्रामिण अर्थतन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो।