

विराटनगर । वीरगञ्जमा हनुमान जयन्तीको अवसरमा निकालिएको शोभा यात्राका क्रममा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको छ। झडप वीरगञ्ज महानगरपालिका–१५ स्थित छप्कैया चोकमा शनिबार अपराह्न भएको हो।
घटनाका क्रममा केही पसलहरूमा तोडफोड र मोटरसाइकलमा आगजनी भएको जनाइएको छ। झडपमा केही स्थानीयवासी र सुरक्षाकर्मी घाइते भएका छन्। घाइतेको संख्या यकिन भइनसकेको प्रहरीले जनाएको छ।
घटनास्थलमा तत्कालै प्रहरी परिचालन गरिएको छ। अवस्था नियन्त्रणमा लिन सुरक्षाकर्मीले अश्रुग्यासको प्रयोग गरेका छन्। हाल सो क्षेत्र तनावग्रस्त बनेको छ भने सुरक्षाको दृष्टिले थप प्रहरी बल खटाइएको छ।
प्रहरीका अनुसार घटनाको विस्तृत विवरण संकलन भैरहेको छ र स्थिति पूर्ण रूपमा नियन्त्रणमा लिन प्रयास जारी छ। स्थानीय प्रशासनले दुवै समुदायलाई संयमित रहन आग्रह गर्दै शान्ति सुरक्षाका लागि आवश्यक कदम चालिरहेको जनाएको छ।
झडपको कारणबारे अझै यकिन विवरण आउन बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।