

विराटनगर:- नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ।
निगमले बिहीबार राति एक सूचना प्रकाशित गरी इन्धनको मूल्य घटाएको हो।
तर, खाना पकाउने ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ।
पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ मूल्य घटेको निगमले जनाएको छ।
नयाँ मूल्यअनुसार (पहिलो वर्ग) चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोको १५ किलोमिटर क्षेत्रमा पेट्रोलको १६७ रुपैयाँ ५० पैसा पर्छ।
दोस्रो वर्ग सुर्खेत र दाङ क्षेत्रमा १६९ रुपैयाँ र तेस्रो वर्ष काठमाडौं, पोखरा र दिपालय डिपोको १५ किलोमिटर क्षेत्रमा एक लिटर पेट्रोलको लागि १७० रुपैयाँ पर्छ।
डिजेल र मट्टीतेल पहिलो वर्ग १५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्ग १५९ रुपैयाँ र तेस्रो वर्गमा १६० रुपैयाँ पर्ने छ।
घटेको मूल्य शुक्रबार बिहान १ बजेदेखि लागू हुने निगमले जनाएको छ।
निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट बिहीबार पेट्रोल र डिजलको मूल्य घटेर आएको थियो।
पेट्रोलमा दुई रुपैयाँ १२ पैसा र डिजलमा चार रुपैयाँ ९ पैसा घटेर आएको थियो।
खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिन्डर २१ रुपैयाँ १४ पैसा बढेर आएको थियो।
तर, आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिले ग्यासको मूल्य यथावत् राखेको निगमले जनाएको छ।
ग्यास पुरानै मूल्यमा बेच्दा निगमलाई प्रतिसिलिन्डर तीन सय रुपैयाँ घाटा रहेको निगमको भनाइ छ।