

विराटनगर । विराटनगर महानगरपालिका–२ को मुनाल पथस्थित कोशी राजमार्गअन्तर्गत रहेको इलोक्ट्रिक साइकल तथा सीटी सफारी बिक्री गर्ने भाबिया इन्टरनेशनलमा आज दिउँसो करिब २ बजे भीषण आगलागी भएको छ। आगोले सो पसललाई पूर्ण रूपमा क्षति पुर्याएको छ ।
आगलागीका कारण इलोक्ट्रिक साइकल, सफारी, र अन्य सामाग्री जलेर नष्ट भएका छन्। पूर्वतर्फबाट चलेको हावाका कारण आगो नियन्त्रणमा कठिनाइ भइरहेको छ। प्रहरी, स्थानीय बासिन्दा, र दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी रहे पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन।
बिजुलीको पोलमा टाँगिएका केवल, इन्टरनेटका तारहरू समेत जलेका छन्। आगालागीको कारण यकिन भइनसकेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।
घण्टानास्थलमा दमकल समयमा नआइपुगेको भन्दै स्थानीय आक्रोशित बनेका छन्। बिराटनगर महानगरपालिकाको दमकललाई घटनास्थल पुग्न करिब १ घण्टा लागेको थियो। त्यसपछि विभिन्न ठाउँबाट आएका दमकलहरूको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहे पनि, पूर्ण रूपमा नियन्त्रणमा आउन समय लागेको छ।
आगलागीका कारण राजमार्गमा सवारी आवागमनमा समेत समस्या भएको छ। पूर्वतर्फको लेनमा सवारीसाधन संचालन रोकिएको छ भने ट्राफिक प्रहरीले पश्चिमतर्फको लेनबाट सवारी साधन संचालन गराइरहेका छन्।