

मोरङ, रानी–विराटनगर सडकखण्डमा विभिन्न स्थानमा पाँचवटा सवारी दुर्घटना हुँदा सात जना घाइते भएका छन्। यी सबै घाइतेलाई उपचारका लागि विराटनगरको कोशी अस्पतालमा लगिएको छ।
पहिलो दुर्घटना विराटनगर महानगरपालिका–१३, सैनिक टोलस्थित रानीपथ सडकखण्डमा भएको हो। जोगवनीबाट विराटनगरतर्फ गइरहेको बा १८ च ३९८५ नम्बरको पिकअप र विपरीत दिशाबाट आइरहेको मधेश प्रदेश ०१–००३ प ७६१७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा, मोटरसाइकल चालक सप्तरी निवासी २३ वर्षीय सचेन्द्र ठाकुर घाइते भएका छन्। उनको बायाँ हात र खुट्टामा चोट लागेको छ भने पछाडि सवार १९ वर्षीय इन्दर कुमार मण्डलको कम्मर र बायाँ घुँडामा सामान्य चोट लागेको छ।
विराटनगर महानगरपालिका–१७ स्थित वडा कार्यालय नजिकै, रानीबाट जहदातर्फ गइरहेको को २ ह ४५१ नम्बरको अटो अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा जहदा गाउँपालिका–२ निवासी ३५ वर्षीय उमेश राजभर र उनकी श्रीमती नुतनदेवी राजभर घाइते भएका छन्। उमेशको दुवै घुँडामा चोट लागेको छ भने नुतनदेवीको टाउकोमा सामान्य चोट लागेको छ। अटो चालक सुनिल गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
विराटनगर महानगरपालिका–१३ कोशी प्रोजेक्ट नजिकै कोशी राजमार्गमा अर्को दुर्घटना भएको छ। विराटनगरबाट रानीतर्फ आइरहेको प्र.१–०२–००४ ह ४१६२ नम्बरको सिटी सफारीलाई विपरीत दिशाबाट आइरहेको प्र.१–०२–०४० प ४०४६ नम्बरको स्कुटरले ठक्कर दिँदा स्कुटर चालक जहदा गाउँपालिका–४ निवासी ५५ वर्षीय बेचन गामी घाइते भएका छन्।
यस्तै, विराटनगर महानगरपालिका–१४ स्थित हाजी आँखा अस्पताल अगाडि पाइडल रिक्सा क्रस गर्ने क्रममा को ८ प ८५०१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा रिक्सा चालक भारतको अररिया निवासी ६५ वर्षीय जहुर मिया घाइते भएका छन्। सामान्य उपचारपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ।
अन्तिम दुर्घटना विराटनगर महानगरपालिका–१४ स्थित कोशी राजमार्गमा भएको छ। रानीतर्फ गइरहेको प्र.१–०२–०४४ प ८८०५ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको प्र.१–०२–०४६ प ९३४३ नम्बरको पल्सर मोटरसाइकलले ठक्कर दिँदा पल्सर चालक बुढीगंगा गाउँपालिका–३ निवासी ३४ वर्षीय सन्तोष कुमार साह घाइते भएका छन्। उनको दुवै खुट्टा र छातिमा चोट लागेको छ।
प्रहरीले सबै घटनामा संलग्न सवारीसाधन र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ।