

बिराटनगर । सुनसरीको बर्जु गाउँपालिका-४ स्थित नराहामा रहेको उखुबारीमा लुकाइएको ठूलो परिमाणमा गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल बीओपी साहेबगञ्ज र हर्मोनीसहितको नेपाल प्रहरीको संयुक्त टोलीले सर्च अपरेशन चलाउँदै २९५.९७ किलो गाँजा फेला पारेको हो।
सशस्त्र प्रहरी नम्बर ४ गण हेडक्वार्टर, सुनसरीका अनुसार उक्त गाँजा स्टोर गरेर राख्ने व्यक्ति इटहरी टोलाका २० वर्षीय शंकर कुमार मण्डललाई पनि नियन्त्रणमा लिइएको छ। प्रहरीका अनुसार, सो गाँजा स्थानीय बजारमा पुर्याउने तयारी भइरहेको थियो।
यस घटनामा थप अनुसन्धान जारी रहेको सशस्त्र प्रहरी बलले जनाएको छ।