

बिराटनगर – इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले लागुऔषध ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा विशेष अभियान चलाउँदै १०१ किलो गाँजासहित कार बरामद गरेको छ।
२०७१ साल माघ २३ गते साँझ ५ बजे, धरान उपमहानगरपालिका–१७ स्थित विष्णुपादुका जाने सर्दु पुल नजिकको भित्री सडकखण्डमा संकास्पद गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले चेकजाँच गर्दा बा ९ च १७६८ नम्बरको क्रिम रङको कार फेला पारेको थियो।
प्रहरीले गाडी जाँच गर्दा चालकविहीन अवस्थामा ठूलो परिमाणमा गाँजा फेला परेको हो। बरामद गरिएको गाँजाको तौल १०१ किलो रहेको र सोही घटनामा संलग्न चालक फरार रहेकाले उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रहरीले उक्त लागुऔषधको ओसारपसारमा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान जारी राखेको जनाएको छ।