

बिराटनगर – मोरङ, झापा, सुनसरी र उदयपुरका विभिन्न स्थानहरूबाट प्रहरीले प्रतिबन्धित लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ।
सुनसरीको धरान उप-महानगरपालिका–४ बाट अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले बा ०२-०३५ प १५३४ नम्बरको स्कुटरमा सवार धनकुटा नगरपालिका-४ का २३ वर्षीय रोशन श्रेष्ठ र २४ वर्षीय निरज घिमिरेलाई १६ ग्राम ५६० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ।
त्यस्तै, झापाको मेचिनगर नगरपालिका-६ स्थितबाट लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाको टोलीले मोरङको शनिश्चरे नगरपालिका-६ का ३० वर्षीय इश्वर भुजेल र उनकी श्रीमती ३८ वर्षीय शान्ती आङ्देम्बे भुजेललाई २ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।
यसैगरी, विराटनगर-१५ बाट लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले सुनसरी इटहरी उप-महानगरपालिका-९ का २५ वर्षीय निशान चौधरीलाई ३ ग्राम २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।
उता, उदयपुरको त्रियुगा नगरपालिका-४ का ३० वर्षीय सरोज कुमार सार्कीलाई एम्पुल १७ वटा र १ थान सिरिन्ज सहित पक्राउ गरिएको छ।
प्रहरीले पक्राउ परेकाहरूमाथि थप अनुसन्धान अघि बढाइसकेको जनाएको छ।