

विराटनगर । मोरङ जिल्लामा बढ्दो मोटरसाइकल चोरीका घटनाहरूलाई मध्यनजर गर्दै जिल्लाप्रहरीले अनुसन्धानमा तीव्रता दिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, पछिल्लो समयमा मोटरसाइकल चोरी गरी भारत तर्फ लैजाने गिरोहका नाइके नजाम अन्सारीलाई पक्राउ गरिएको छ। अनुसन्धानका क्रममा अन्सारीले नेपालबाट मोटरसाइकल चोरी गरी भारतमा बिक्री गरेको स्वीकारेका छन्। साथै, केही पीडितहरूलाई सम्पर्क गरी सवारीसाधन फिर्ता गर्ने नाममा फिरौती रकम माग गरेको प्रमाण पनि भेटिएको प्रहरीले जनाएको छ।
गत मंसिरमा अन्सारी पक्राउ परेपछि चोरीका घटनामा केही समयका लागि रोक लागे पनि पछिल्लो समय फेरि चोरीका गतिविधिहरू बढ्न थालेका छन्। यही क्रममा चैत २६ गते मोरङको कटहरी निवासी दुला चन्द पोदारको नाममा दर्ता भएको प्र.१–०२–०४१ प ०३४० नम्बरको कालो–रातो रङको होण्डा मोटरसाइकल कपडा पसल अगाडि पार्किङबाट चोरी हुँदै गर्दा प्रहरीले दुई जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको जनाएको छ।
थप अनुसन्धान गर्दा उनीहरूको संलग्नतामा भारत–नेपाल सीमा क्षेत्र दरैया–रटिकुलियाबाट थप पाँच वटा मोटरसाइकल बरामद गरिएर कुल ६ वटा मोटरसाइकल फेला पारिएको प्रहरीले जनाएको छ।
मोटरसाइकल हराएको विभिन्न स्थानहरूको सीसीटीभी फुटेजको विश्लेषणका आधारमा अनुसन्धान भइरहेको छ। भिन्न–भिन्न फुटेजहरूमा मिल्दो अनुहार देखिएका व्यक्तिहरूको खोजी, पहिचान तथा प्राविधिक विश्लेषण पनि भइरहेको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले मोरङको जोगबनी क्षेत्रबाट संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
प्रहरीले मोटरसाइकल चोरी नियन्त्रणका लागि सक्रियता अझै बढाउने जनाएको छ।